काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड ले आईसीसी टी–२० विश्वकपमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।
पीसीबीका अनुसार यो जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण गरिएको हो। विशेषगरी समूह चरणमा भारत सँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै जरिवानाको निर्णय गरेको थियो। त्यतिबेला यदि टोली सेमिफाइनल पुगेमा जरिवाना फिर्ता हुने सङ्केत पनि गरिएको थियो।
पाकिस्तान टोली ‘सुपर एट’ चरणसम्म पुगे पनि त्यसपछि समस्यामा पर्यो। न्युजिल्यान्ड सँगको खेल वर्षाका कारण रद्द भयो भने इंग्ल्यान्ड सँग पराजित हुनुपर्यो। त्यसपछि सेमिफाइनल पुग्न अन्य नतिजामा भर पर्नुपर्ने स्थिति आयो। श्रीलङ्का सँग ठूलो अन्तरको जीत आवश्यक भए पनि पाकिस्तानले त्यो पुरा गर्न सकेन र टोली प्रतियोगिताबाट बाहिरियो।
यससँगै पाकिस्तान लगातार चौथोपटक आईसीसी पुरुष प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भएको छ। प्रतियोगिताभर टोलीभित्र कुनै अनुशासनसम्बन्धी समस्या नभए पनि प्रदर्शनकै आधारमा सामूहिक रूपमा जरिवाना लगाइनु दुर्लभ र सम्भवतः अभूतपूर्व कदम मानिएको छ।
याद गर्नुहोस्, केही महिनाअघि एशिया कपको फाइनलमा भारतसँग पराजित भएपछि पीसीबीले खेलाडीहरूलाई विदेशी टी–२० लिग खेल्न दिइने एनओसी अस्थायी रूपमा निलम्बन गरेको थियो, तर पछि उक्त निर्णय फिर्ता गरिएको थियो।







फेसबुकबाट तपाईको प्रतिक्रिया