इन्धन नियमित, अनावश्यक भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

192 Shares

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ले सूचना जारी गर्दै अनावश्यक भण्डारण गर्दा आगजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभएको हो । उहाँका अनुसार इन्धन आपूर्ति नियमित भइरहेको छ र निर्वाचन अवधिभर पनि आपूर्ति निरन्तर रहनेछ ।

उहाँले पेट्रोलियम पदार्थ जेरी क्यान र ड्रममा अनावश्यक रूपमा भण्डारण गर्दा सम्भावित आगलागीको जोखिम बढ्ने भन्दै त्यस्ता भाँडामा इन्धन भर्न निषेध गरिएको जानकारी दिनुभयो ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न निगमले सम्पूर्ण उपभोक्तासँग आग्रह गरेको छ ।