मौन अवधि मतदाताको स्वतन्त्र निर्णयको अवसर : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

51 Shares

काठमाडौंरामप्रसाद भण्डारीले मौन अवधि मतदाताले आफ्नो अन्तरआत्माबाट स्वतन्त्रतापूर्वक निर्णय गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

उनका अनुसार राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले विवेकपूर्ण निर्णय गर्न सकून् भन्ने उद्देश्यले प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको हो। यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने विश्वास उनले व्यक्त गरे।

२१ फागुनको निर्वाचनका लागि निर्वाचन आयोगले ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो। निर्वाचन प्रचार अभियानलाई केवल जित्ने साधनका रूपमा नभई मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

विश्वव्यापी अभ्यासअनुसार मतदानअघिको केही समय प्रचारप्रसार निषेध गरिने परम्परा रहेको उल्लेख गर्दै उनले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गर्न मतदातालाई सहज वातावरण मिल्ने बताए।

मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन। मतदानको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दललाई निर्देशन दिइएको छ।

यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ संगठनहरूले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट गरेका विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्नेछ। निषेध अवधिमा पक्ष वा विपक्षमा कुनै पनि प्रचार सामग्री पोस्ट गरेको पाइए कानुनअनुसार कारबाही हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चेतावनी दिएका छन्।