वार्ता र कूटनीतिमार्फत समस्या समाधान गर्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

76 Shares

काठमाडौंविद्यादेवी भण्डारीले युद्ध, हिंसा तथा सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ।

उहाँले युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुका साथै नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल तथा तयारी गर्न ध्यानाकर्षण गराउनुभएको छ।

फागुपूर्णिमा (होली)को पावन अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावना सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागुपूर्णिमाले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिको अन्त्य गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

साथै, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै सक्रिय सहभागिता जनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि आसन्न निर्वाचन महत्वपूर्ण अवसर हुने उहाँको भनाइ छ।