निर्वाचनमा सक्रिय सहभागिताका लागि प्रधानमन्त्री सुशीला कार्कीको अपिल

137 Shares

काठमाडौं — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न देशवासीलाई अपिल गर्नुभएको छ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउनुभयो। मतदान केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई कडा निगरानीमा राखिएको चेतावनी दिनुभयो।

मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानुन बमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो।