काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली रहेका जनाएको छ।
मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख **रामकाजी खड्का**ले आइतबार पत्रकार सम्मेलनमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो।
मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपालीका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ। साथै, नेपाली नियोग प्रमुखहरूसँग समन्वय गर्न ह्वाट्सएप समूह गठन गरिएको छ, जहाँ स्थानीय गतिविधि र समस्याबारे नियमित अपडेट उपलब्ध हुनेछ।
उद्धार र नागरिक अवस्थाबारे तथ्यांक संकलनका लागि कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु भएको छ। यस प्लेटफर्मलाई सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ।
आईतबार मुख्यसचिव **सुमनराज अर्याल**को नेतृत्वमा सर्वपक्षीय बैठक बसेको थियो। बैठकले परराष्ट्र सचिव **अमृतबहादुर राई**को नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको छ। उद्धार रणनीति सम्भावित युद्ध अवस्था, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा तय गरिनेछ।
मन्त्रालयका सहसचिव **कृष्णप्रसाद ढकाल**ले मध्यपूर्वमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी दिनुभयो। उहाँले नेपाली नागरिकहरूलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहन र स्थानीय सरकार तथा दूतावासको आधिकारिक सूचनाको पालना गर्न आग्रह गर्नुभयो।
मन्त्रालयका प्रवक्ता **लोकबहादुर पौडेल क्षेत्री**ले मध्यपूर्वमा विकसित घटनालाई सरकारले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयमता अपनाउन र तनाव बढ्न नदिन आग्रह गर्नुभएको छ।
नेपालले कुटनीतिक माध्यम, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालन गर्दै विवाद समाधान गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न आह्वान गरेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया