काठमाडौं । परराष्ट्र मन्त्रालयले **इरान**मा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार विभिन्न प्रयोजनले इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना फर्किने क्रममा छन्। बाँकी आठ जना अझै इरानमै रहेका छन् र उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले स्पष्ट गरेको छ। उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको पनि जानकारी दिइएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमलाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको जनाउँदै, हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सकेसम्म घरभित्रै बस्न, आवश्यक सावधानी अपनाउन तथा आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ।
साथै, इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न र **नेपाल**बाट ती मुलुकतर्फ हुने सम्पूर्ण यात्रा हाललाई रद्द गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया