काठमाडौं । सुशीला कार्की ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार सम्पूर्ण रूपमा सक्रिय रहेको बताउनुभएको छ।
काठमाडौं मा बिहीबार आयोजित प्रजातन्त्र दिवस तथा निर्वाचन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले २०१५ साल फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभएको थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ अघि बढाउने प्रयास भइरहेको जिकिर गर्नुभयो। तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको उहाँको दाबी छ।
उहाँले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। साथै संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपिल गर्नुभयो।
प्रधानमन्त्री कार्कीले बुद्धिजीवी, नागरिक समाज, युवा र सम्पूर्ण प्रजातन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दै वीर योद्धाहरूले देखेको समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको सपना साकार पार्न सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया