‘नयाँ अवतार’ मा मधेस आएको दाबी : नेपाली काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा

143 Shares

काठमाडौं । नेपाली काँग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले मुलुकको विद्यमान राजनीतिक तथा सामाजिक परिस्थितिलाई सम्बोधन गर्न काँग्रेस ‘नयाँ अवतार’ मा मधेस प्रदेश आएको उद्घोष गर्नुभएको छ ।

मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन सत्ता प्राप्तिको माध्यम मात्र नभई संकटमा परेको देशलाई सम्हाल्ने र नागरिकको पीडामा मलम लगाउने अवसर भएको बताउनुभयो । उहाँले स्वर्गीय नेताहरूको योगदान स्मरण गर्दै मधेस र समग्र देशको रूपान्तरणको अधुरो यात्रा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शर्माले मधेसलाई नेपालको अन्न भण्डार र देशको खाद्य सुरक्षाको आधार क्षेत्रको रूपमा उल्लेख गर्दै किसानहरूको श्रमप्रति सम्मान व्यक्त गर्नुभयो ।

‘एमआरआई रिपोर्ट’ र चुनावको औचित्य

उपसभापति शर्माले विशेष महाधिवेशनमार्फत पार्टीले देशको अवस्थाको ‘एक्स–रे’ र ‘एमआरआई’ विश्लेषण गरेको दाबी गर्नुभयो । देश र मधेस दुवै कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै त्यसकै कारण तोकिएको समयभन्दा अगाडि निर्वाचन हुन लागेको उहाँको भनाइ थियो ।

उहाँले अहिलेको अवस्थामा कसलाई जिताउने भन्दा पनि देशलाई कठिन परिस्थितिबाट कसले सम्हाल्न सक्छ भन्ने मुख्य प्रश्न रहेको उल्लेख गर्दै काँग्रेस त्यो जिम्मेवारी लिन तयार रहेको बताउनुभयो ।

मध्यमार्गी राजनीति र युवा पुस्ता

पछिल्लो राजनीतिक प्रवृत्तिमाथि टिप्पणी गर्दै शर्माले काँग्रेस मध्यमार्गी सोचसहित अघि बढ्ने बताउनुभयो । चरम सकारात्मक र चरम नकारात्मक दुवै सोच गलत भएको भन्दै युवाको असन्तोष समयमै सम्बोधन गर्न नसके भविष्यमा ठूलो संकट आउन सक्ने चेतावनी दिनुभयो ।

जेन–जी र भविष्यको अल्फा पुस्ताको मनोविज्ञान बुझ्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले समयमै सुधार नगरे सामाजिक अस्थिरता बढ्न सक्ने बताउनुभयो ।

राष्ट्रिय संवाद र संवैधानिक सुधार प्रस्ताव

शर्माले सबै राजनीतिक दललाई राष्ट्रिय संवादमा आउन आह्वान गर्दै निर्वाचनपछि बन्ने सरकारले संविधानमा केही आधारभूत सुधार गर्नुपर्ने प्रस्ताव राख्नुभयो । स्थिर सरकार सुनिश्चित गर्ने व्यवस्था र साझा संवैधानिक सिद्धान्त निर्माणको अवधारणा अघि सार्नुपर्ने उहाँको भनाइ थियो ।

मधेस–पहाड एकताको सन्देश

काँग्रेसको आधार मधेस र पहाडको एकता रहेको उल्लेख गर्दै शर्माले देशभर एकता र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै प्रवासमा रहेका नेपालीहरूको नागरिकता, लगानी सुरक्षा र मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो ।

आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न र पार्टीको विकास योजनालाई समर्थन गर्न उहाँले अपिल गर्नुभयो ।