काठमाडौं । Donald Trump ले विश्वकै ठूलो मानिएको युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन्।
‘यूएसएस जेराल्ड आर फोर्ड’ नामक विमानवाहक युद्धपोतलाई मध्यपूर्व पठाउने आदेश दिएको कुरा ट्रम्पले शुक्रबार पुष्टि गरेका हुन्। यदि Iran सँग सम्झौता नभए उक्त युद्धपोतको आवश्यकता पर्न सक्ने उनले बताएका छन्।
यस विषयमा BBC ले जनाएअनुसार यसअघि एसोसिएटेड प्रेसले उक्त विमानवाहक पोत क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ पठाउने तयारी गरिएको समाचार सार्वजनिक गरेको थियो।
ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा पनि टिप्पणी गरेका छन्। पत्रकारसँगको कुराकानीमा उनले सत्ता परिवर्तन सम्भावित रूपमा राम्रो विकल्प हुन सक्ने बताएका छन्।
ट्रम्पको आदेशपछि अमेरिकी नौसेनाको सबैभन्दा आधुनिक विमानवाहक पोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ अर्को विमानवाहक पोतसँगै टास्क फोर्समा सहभागी हुने जनाइएको छ। अर्को विमानवाहक पोत यसअघि नै मध्यपूर्व क्षेत्रमा पुगिसकेको छ।
उक्त युद्धपोत परमाणु रिएक्टर प्रणालीबाट सञ्चालन हुने आधुनिक पोत हो, जसले एफए–१८ सुपर हर्नेट र ए–२ हकआई सहित ७५ भन्दा बढी लडाकु विमान बोक्न सक्ने क्षमता राख्छ। परमाणु रिएक्टर प्रणालीले परमाणु विखण्डन प्रक्रियाबाट ठूलो मात्रामा ऊर्जा उत्पादन गरेर पोत सञ्चालनमा प्रयोग गर्ने गर्दछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया