काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। विमानस्थल गेटमा उपस्थित समर्थकहरूले विभिन्न नारासहित उनको स्वागत गरेका छन्। उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन्।
विमानस्थल क्षेत्रमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति रहेको छ। समर्थकहरूले र्यालीसहित उनलाई निर्मल निवास पुर्याउने तयारी गरेका छन्। ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइएको छ।
विमानस्थल क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं ले शाहलाई विमानस्थलभित्रै स्वागत गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई का अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
काठमाडौं का विभिन्न चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया