काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर र आसपास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशअनुसार विमानस्थल परिसरमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर धर्ना, जुलुस, प्रदर्शन, सभा, र्याली जस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। यो निषेधाज्ञा विमानस्थलको गोल्डेन गेट प्रवेशद्वारदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र तथा सम्पूर्ण परिसरमा लागू हुने बताइएको छ।
फागुन १ गते विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही राजनीतिक दल तथा समूहले सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत कार्यक्रम घोषणा गरेपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ। संवेदनशील क्षेत्रमा भीडभाड र आन्दोलन भए तोडफोड, आगजनी तथा अवाञ्छित गतिविधि हुन सक्ने जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लगाइएको प्रशासनको भनाइ छ।
प्रशासनले निषेधित क्षेत्रबाहेक शान्तिपूर्ण रूपमा अभिव्यक्ति र भेला हुने संवैधानिक अधिकार कायम रहने स्पष्ट पारेको छ। साथै, आन्दोलनका क्रममा सरकारी, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगेमा आयोजकले क्षतिपूर्ति व्यहोर्नुपर्ने चेतावनी समेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया