बंगलादेशमा शेख हसिनापछि पहिलो आमनिर्वाचन सुरु

148 Shares

काठमाडौं — बंगलादेशमा शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएपछिको पहिलो आमनिर्वाचन बिहीबार बिहानदेखि सुरु भएको छ। सन् २०२४ को जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहले हसिनालाई सत्ता च्युत गरेपछि देशमा पहिलो पटक लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको हो।

यो चुनाव इतिहासमा विशेष महत्वको मानिएको छ। दशकौंपछि पहिलो पटक हसिना र खालिदा जियाको सक्रिय सहभागिता बिना चुनाव हुँदैछ। हसिनाको दल अवामी लीग निर्वाचनमा सहभागी हुन प्रतिबन्धित छ। मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)जमात-ए-इस्लामी बीच हुने देखिएको छ।

मतदाताले दुई मतपत्र प्रयोग गर्नेछन्:

  1. सेतो मतपत्र — क्षेत्रीय सांसद चयनको लागि

  2. गुलाबी मतपत्र — राष्ट्रिय जनमत सङ्ग्रहका लागि, जसमा संवैधानिक सुधार प्रस्तावको समर्थन वा विरोध जनाउने व्यवस्था छ।

सुझावमा संसद्मा महिलाको प्रतिनिधित्व बढाउने, प्रधानमन्त्रीको कार्यकालको सीमा तोक्ने, र द्विसदनात्मक व्यवस्थाको निर्माण जस्ता महत्वपूर्ण विषय समावेश छन्।

करिब १२ करोड मतदाता रहेको यस निर्वाचनको नतिजा भोलिसम्म आउँने अपेक्षा छ। सुरक्षा व्यवस्था देशभर कडा पारिएको छ। मतदाताहरूले यसपटक साँचो विकल्प भएको महसुस गरेको बिबिसी संवाददाता योगिता लिमयले बताएकी छन्।

सन् २०२४ को ‘जेनजी’ विद्रोहमा कम्तीमा १४०० प्रदर्शनकारीको मृत्यु भएको थियो। हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो। हसिनाको देश छाडेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

नागरिकहरूले यस निर्वाचनलाई अधिनायकबाट पूर्ण लोकतन्त्रतर्फको नयाँ सुरुवातको रूपमा हेरेका छन्।