काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यता, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली, मतदान विधि लगायत विषय समेटेर आयोगले नागरिक शिक्षासम्बन्धी सामग्री सार्वजनिक गरेको हो ।
आयोगका अनुसार लोकतन्त्रको सुदृढीकरण, मतदाताको सचेत सहभागिता तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट जानकारी दिन उद्देश्यले उक्त सामग्री तयार गरिएको हो । मतदानको महत्व, संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, राजनीतिक दलको भूमिका तथा मतदाताको अधिकार र कर्तव्यसम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको आयोगले जनाएको छ ।
निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ, जसले सबै नागरिकलाई सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ । यस सामग्रीको प्रयोग सरकारी निकाय, नागरिक समाज, शैक्षिक संस्था तथा अन्य सरोकारवाला संस्थाले नागरिक शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगको अपेक्षा छ ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार नागरिक शिक्षा प्रवर्द्धनका लागि तयार गरिएका स्रोत सामग्रीले मतदातामा सचेतना वृद्धि गर्ने तथा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । उनले ती सामग्रीलाई स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रममार्फत प्रयोग गरिने जानकारी दिए ।
आयोगले फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्र बनाउने तयारी गरेको छ । मतदाता शिक्षा अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण, अन्तरक्रिया, सञ्चारमाध्यममार्फत प्रचार–प्रसार तथा डिजिटल प्लेटफर्म प्रयोग गरी नागरिकलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिने योजना रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा मतदाताको सक्रिय सहभागिता लोकतन्त्रको आधार भएकाले नागरिक शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आयोगले सरकारी तथा गैरसरकारी क्षेत्रसँग सहकार्य गर्ने नीति लिएको छ । आयोगले विशेषगरी युवा, महिला, अपाङ्गता भएका व्यक्ति, दुर्गम क्षेत्रका नागरिक र पहिलोपटक मतदान गर्न लागेका मतदातालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले नागरिकलाई विश्वसनीय सूचना प्राप्त गरी स्वतन्त्र रूपमा मतदान गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ । मतदातामा सही जानकारी पुग्दा निर्वाचनको पारदर्शिता र विश्वसनीयता अझ मजबुत हुने विश्वास आयोगको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन नागरिक शिक्षा अभियान महत्वपूर्ण हुने भन्दै आयोगले सबै सरोकारवालालाई यस अभियानमा सहकार्य गर्न आह्वान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया