दोलखा । दोलखा जिल्लामा बढ्दो बाँदर आतङ्कले कृषि क्षेत्रलाई गम्भीर संकटतर्फ धकेलेको छ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्थानीय किसानले यस समस्यालाई मुख्य चुनावी मुद्दाका रूपमा उठाएका छन् । बाली जोगाउनै नसकिने अवस्था आएपछि किसानले समस्या समाधान गर्ने स्पष्ट योजना र प्रतिबद्धता जनाउने दल तथा उम्मेदवारलाई मात्र भोट दिने चेतावनी दिएका छन् ।
तामाकोशी नदीतटीय क्षेत्रसहित बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, मेलुङ, शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिकाका तल्लो भेगका किसान बाँदर आतङ्कबाट सबैभन्दा बढी प्रभावित भएका छन् । खेतीयोग्य जमिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा धेरै किसान खेती नै छाड्ने अवस्थामा पुगेका छन् । कतिपय बस्तीमा खेत बाँझो हुन थालेको र उत्पादन घट्दै गएको स्थानीय बताउँछन् ।
किसानका अनुसार बाँदर नियन्त्रण गर्न न त मार्न पाइन्छ, न त प्रभावकारी धपाउने उपाय नै सफल भएका छन् । केही वर्षअघि स्थानीय तहले आवाज निकाल्ने मेसिन वितरण गरे पनि सुरुमा मात्र प्रभाव देखिएको र पछि बाँदर त्यसमा अभ्यस्त भएको उनीहरूको भनाइ छ । अहिले ती उपकरण प्रयोग गर्दा पनि खासै प्रभाव नदेखिएको किसान बताउँछन् ।
मेलुङ गाउँपालिका–७ का किसान कर्ण खड्का भन्छन्, “सेनाबाट अवकाश लिएर गाउँ फर्किएपछि कृषिमा लागेँ, तर बाँदरले बाली सखाप पार्दा निराश हुनुपरेको छ । दिनभर खेत कुर्नुपर्ने भएकाले अन्य काम गर्नै पाइँदैन । यस्तो अवस्थामा कृषि पेशाप्रति आकर्षण घट्दै गएको छ ।”
स्थानीय महिलाहरू पनि बाँदर आतङ्कका कारण दैनिक जीवन प्रभावित भएको बताउँछन् । घरभित्र पसेर पकाएको खाना लैजाने, भान्साका भाँडा बिगार्ने जस्ता घटना बढेको उनीहरूको गुनासो छ । चन्द्रकुमारी बुढाथोकी भन्छिन्, “पहिला मकै र गहुँ मात्र खाने बाँदर अहिले आलु, केराउ, प्याज, लसुनसम्म नष्ट गर्छ । कहिलेकाहीँ पकाएको भात नै लिएर जान्छ ।”
किसानहरूले बाँदर नियन्त्रणका लागि वैज्ञानिक र दीर्घकालीन उपाय आवश्यक भएको बताएका छन् । वन्यजन्तु व्यवस्थापन, बासस्थान संरक्षण, नियन्त्रण योजना तथा क्षतिपूर्ति व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ । कृषि विज्ञहरूले पनि समस्या समाधानका लागि राज्यस्तरको समन्वित नीति आवश्यक रहेको बताएका छन् ।
स्थानीय सरकारप्रति पनि किसानको असन्तुष्टि देखिएको छ । स्थानीय तह गठन भएको वर्षौँ बित्दा पनि समस्या समाधानमा प्रभावकारी कदम नचालिएको आरोप किसानको छ । उनीहरूका अनुसार चुनाव नजिकिँदा मात्रै नेताहरू समस्या सुन्न आउने तर दीर्घकालीन समाधानमा ध्यान नदिने प्रवृत्ति देखिएको छ ।
अहिले निर्वाचन नजिकिँदै जाँदा दोलखामा बाँदर आतङ्क मुख्य राजनीतिक बहसको विषय बन्न थालेको छ । मतदाताले विकासका ठूला नारा भन्दा आफ्नो दैनिक जीवनसँग जोडिएको समस्याको समाधान खोजिरहेका छन् । यसले ग्रामीण मतदाताको प्राथमिकता परिवर्तन भएको संकेत गर्ने विश्लेषण गरिएको छ ।
विशेषज्ञहरूका अनुसार यदि समयमै प्रभावकारी नीति नल्याइए कृषि उत्पादन घट्ने, ग्रामीण अर्थतन्त्र कमजोर हुने र बसाइँसराइ बढ्ने जोखिम रहन्छ । त्यसैले स्थानीयदेखि संघीय तहसम्म समन्वित रणनीति बनाएर समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
आगामी निर्वाचनमा दोलखाका किसानले उठाएको यो मुद्दाले राजनीतिक दलहरूलाई कृषि, वातावरण र ग्रामीण जीवनसँग जोडिएका वास्तविक समस्यामा ध्यान दिन बाध्य पार्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया