बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखाने र आत्मनिर्भर नागरिकको प्रदेश बनाउने लक्ष्यसहित शिक्षा प्रणालीमा सुधारको पहल भइरहेको बताएका छन्।
हेटौँडा उपमहानगरपालिका–५ पिप्ले स्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रलाई रोजगारी र सीपसँग जोड्ने नीति अघि बढाइएको जानकारी दिए। काम गरेर खाने युवाशक्ति उत्पादन गर्न शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री बानियाँले एआई (कृत्रिम बुद्धिमत्ता) को युगलाई मध्यनजर गर्दै प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। सीपमूलक तालिम, प्राविधिक शिक्षा र रोजगारीसँग प्रत्यक्ष सम्बन्ध हुने पाठ्यक्रम विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो।
उनले नयाँ पुस्ताले चाहेको आधुनिक र प्रयोगात्मक शिक्षा तत्काल पूर्ण रूपमा लागू गर्न चुनौती भए पनि क्रमशः प्राविधिक तथा प्रविधिसँग जोडिएको शिक्षा विस्तार गर्दै त्यस दिशामा अघि बढिरहेको उल्लेख गरे। शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र रोजगारमुखी बनाउँदा मात्रै युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने उनले बताए।
मुख्यमन्त्री बानियाँले गुणस्तरीय शिक्षा, सीप विकास र रोजगारी सिर्जनालाई जोडेर बागमती प्रदेशलाई आर्थिक तथा सामाजिक रूपमा सबल प्रदेश बनाउने लक्ष्य रहेको पनि स्पष्ट पारे।
फेसबुकबाट तपाईको प्रतिक्रिया