मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि: यस वर्ष करिब एक लाख मेट्रिक टन कम आयात हुने

148 Shares

काठमाडौँ – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रासायनिक मल आयात गत वर्षको तुलनामा करिब एक लाख मेट्रिक टन कम हुने जनाएको छ। अन्तरराष्ट्रिय बजारमा मलको मूल्य उल्लेख्य रूपमा बढेकाले आयात घट्ने स्थिति आएको मन्त्रालयले स्पष्ट पारेको हो।

सरकारले मलमा अनुदानस्वरूप रु २८ अर्ब ८२ करोड बजेट विनियोजन गर्दै पाँच लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको थियो। तर अन्तरराष्ट्रिय मूल्य वृद्धि भएपछि सो बजेटबाट करिब ८४ हजार मेट्रिक टन मल कम आयात हुने मन्त्रालयले जनाएको छ। हाल चालु आर्थिक वर्षका लागि चार लाख ६६ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान गरिएको छ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार बोलपत्रमार्फत खरिद गरिएको मलमध्ये केही नेपाल भित्रिसकेको छ भने बाँकी मल आयात प्रक्रियामा रहेर आउने क्रममा छ। बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोज्ने प्रयास गरिए पनि आवश्यक रकम जुटाउन नसकिएको उनले जानकारी दिए।

यद्यपि हाल देशभर बजारमा मलको अभाव नरहेको मन्त्रालयको दाबी छ। करिब एक लाख १५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले किसानलाई खेतीपाती र बाली लगाउन तत्काल समस्या नहुने बताइएको छ। नेपालमा रासायनिक मल आपूर्तिमा कृषि सामग्री कम्पनी लिमिटेडले करिब ७० प्रतिशत र साल्ट ट्रेडिङ लिमिटेडले करिब ३० प्रतिशत हिस्सा ओगटेका छन्।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा नेपालले अन्तरराष्ट्रिय ग्लोबल बोलपत्र प्रणालीमार्फत मल खरिद गर्दै आएको छ। भारतको कलकत्ता, हल्दिया लगायत स्थानबाट मल आयात गरी विराटनगर, वीरगञ्ज र भैरहवास्थित गोदाममार्फत देशभर वितरण गरिन्छ। तर विद्युतीय खरिद प्रणाली (इविडिङ) प्रक्रियाको लामो समय लाग्ने अवस्थाले कहिलेकाहीँ समयमा मल उपलब्ध गराउन कठिनाइ हुने गरेको मन्त्रालयले जनाएको छ।

विसं २०७८ को कृषिगणनाअनुसार नेपालका करिब ७६ प्रतिशत किसान परिवारले धान बालीमा रासायनिक मल प्रयोग गर्ने गरेका छन्। यस तथ्यले कृषि उत्पादनका लागि मलको महत्त्व अझ प्रष्ट बनाएको मन्त्रालयले जनाएको छ।