काठमाडौँ – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पछिल्लो समय भएका घातक सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो एक हप्ताभित्र भएका दुई ठूला दुर्घटनामा दर्जनौँ यात्रुले अकालमा ज्यान गुमाउनुपरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको पूर्व अरनीको यातायात रामेछापमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए। दुवै दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका थिए।
महासङ्घले दुर्घटनामा निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरिएको छ।
कार्यवाहक महासचिव सिङ्खडाले देशभर भइरहेका सडक दुर्घटनाको कारण र वास्तविक अवस्था छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत, उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनले दुर्घटना न्यूनीकरणका लागि केवल प्रतिक्रियामुखी होइन, नीतिगत र कार्यान्वयनमुखी कदम आवश्यक रहेको बताए।
महासङ्घले यातायात व्यवसायी तथा चालकहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, यात्रु टिकट काट्दा पहिचान खुल्ने प्रमाण, नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न आग्रह गरेको छ। यसले दुर्घटनापछि पहिचान, उद्धार र क्षतिपूर्ति प्रक्रियालाई सहज बनाउने महासङ्घको भनाइ छ।
त्यसैगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै हिमाल, पहाड र तराईका ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कुनै पनि किसिमको दबाब वा प्रलोभनमा नपरी सिट क्षमताभित्र मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न महासङ्घले अनुरोध गरेको छ।
महासङ्घले सडक दुर्घटनापछि सरकारद्वारा गठन गरिएका सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विभिन्न छानबिन प्रतिवेदनहरू कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको जनाएको छ। यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै महासङ्घले नेपाल सरकारद्वारा गठित सबै दुर्घटना अध्ययन तथा छानबिन प्रतिवेदनहरू तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छ।
महासङ्घका अनुसार प्रतिवेदन कार्यान्वयन, कडाइका साथ नियम पालन र सचेतनाको अभावकै कारण सडक दुर्घटना अझै भयावह बन्दै गएको छ। दीर्घकालीन समाधानका लागि सरकार, व्यवसायी, चालक र यात्रु सबैको संयुक्त जिम्मेवारी र सहकार्य आवश्यक रहेको महासङ्घको निष्कर्ष छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया