काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुन गइरहेको गरुडदल गण शान्ति सेनाको १२औँ समूहको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फाको कार्यकाल पूरा भएसँगै १६२ जना नेपाली शान्ति सैनिकको नयाँ टोली आजै मिसन इलाकातर्फ प्रस्थान गरेको हो।
उक्त टोलीले सुरक्षा, पुनर्निर्माण र स्थानीय समुदायको सहयोग लगायत विभिन्न शान्ति मिसनका कार्यहरूमा योगदान दिने निर्देशनालयले जनाएको छ।
त्यसैगरी, आफ्नो कार्यकाल पूरा गरेका १७१ जना नेपाली शान्ति सैनिक आज स्वदेश फर्किएका छन्। हालको मिसनमा एक हजार ६९ जना नेपाली शान्ति सैनिक कार्यरत रहेका छन्।
नेपालले दक्षिण सुडानमा लामो समयदेखि शान्ति सेनाको भूमिका निर्वाह गर्दै आएको छ र यसअघि परिचालित सैनिकहरूले पनि स्थानीय शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण योगदान पुर्याएका छन्।
यससँगै, १२औँ टोलीको प्रस्थानले नेपाली शान्ति सेनाको निरन्तरता र अन्तर्राष्ट्रिय सहयोगमा नेपालको प्रतिबद्धतालाई पुष्टि गरेको सैनिक अधिकारीहरूले बताएका छन्।
नेपालले शान्ति सेनाको माध्यमबाट विश्वव्यापी शान्ति स्थापनामा योगदान पुर्याउने र शान्ति मिशनमा रहेका आफ्ना सैनिकको सुरक्षामा विशेष ध्यान दिने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया