राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा समस्याग्रस्त वन्यजन्तु नियन्त्रण अभियान सुरु

144 Shares

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान, ट्रयाकिङ र नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ। सदस्य सचिव डा. नरेश सुवेदीका अनुसार अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा टोली खटाइएको छ।

उद्धार टोली बर्दियास्थित कोषको कार्यालयबाट कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत छ। टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रित छन्। डा. सुवेदीका अनुसार टोली वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँग समन्वय गर्दै कार्यरत छ।

समस्या भएका वन्यजन्तुको निगरानी २४ सै घण्टा भइरहेको छ। सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन स्थानमा ‘बेट’ राखिएको छ भने बर्दियामा चितुवाको नियन्त्रणका लागि उद्धार खोर तयार गरिएको छ। दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि टोली सक्रिय प्रयास गरिरहेको छ।

यस अभियानको सुरुवात सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणका कारण मानवीय क्षति र घाइते हुने घटना सार्वजनिक भएपछि भएको हो। बारबर्दियामा पनि चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आएपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा टोली खटाइएको थियो।

उद्धार टोलीले विगत दुई महिनामा मात्र टीकापुर र बलापुरबाट दुई वटा चितुवा उद्धार गर्न सफल भएको छ। त्यस्तै, एक समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ। डा. सुवेदीका अनुसार टोलीले वन्यजन्तुको सुरक्षा, मानवीय क्षति न्यूनीकरण र स्थानीयवासीका लागि सुरक्षा सुनिश्चित गर्न नियमित निगरानी र उद्धार कार्य जारी राख्नेछ।

यस अभियानले वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। एनटिएनसीले भविष्यमा पनि जोखिमयुक्त क्षेत्रहरूमा नियमित निगरानी, समन्वय र आवश्यक प्राविधिक सहायता जारी राख्ने योजना बनाएको छ।