महाशिवरात्रि नजिकिँदै, पशुपति क्षेत्रमा तयारी तीव्र

144 Shares

काठमाडौं । पशुपतिक्षेत्र यतिबेला महाशिवरात्रि पर्वका लागि बेहुलीझैँ सिँगारिँदै छ । आगामी फागुन ३ गते मनाइँने महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरी तयारीलाई तीव्रता दिएको छ ।

पशुपतिनाथ मन्दिर, आसपासका शिवालयहरू र घाट क्षेत्रमा रङरोगन, सरसफाइ र पूर्वाधार सुधारका कामहरूले क्षेत्रलाई नयाँ रौनक थपेको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन सुनिश्चित गर्न भित्ताहरूमा नयाँ रङ भर्ने काम भइरहेको छ भने धुलोमैलो हटाउन विशेष सरसफाइ अभियान सञ्चालनमा छ । जीर्ण भएका भौतिक संरचनाहरूको मर्मत सम्भार पनि तीव्र गतिमा भइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीका अनुसार व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ र यातायातजस्ता महत्त्वपूर्ण पक्षहरूलाई नौवटा विषयगत उपसमितिले सूक्ष्म रूपमा नियालिरहेको छ ।

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित र मर्यादित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । ठूलो सङ्ख्यामा आउने स्वदेशी तथा विदेशी भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा विशेष ध्यान दिइएको छ ।

महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा साधु-सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आएका नागा, अघोरी र अन्य सम्प्रदायका साधुहरूले आफ्ना धुनी स्थापना गर्न थालेका छन् । मृगस्थली, भष्मेश्वर र आसपासका क्षेत्रमा साधुहरूको ध्यान र साधनाले वातावरणलाई थप आध्यात्मिक बनाएको छ ।

भक्तजनका लागि सुरक्षा, स्वच्छता र दर्शन सहज हुने उद्देश्यका साथ सुसज्जित व्यवस्था निर्माण भइरहेकाले यस वर्षको महाशिवरात्रि पर्वलाई सुव्यवस्थित रूपमा सम्पन्न गराउने तयारी पूरा भइरहेको क्षेत्र विकास कोषले जनाएको छ ।