चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी

133 Shares

काठमाडौं । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रअनुसार नेपालले आगामी वर्ष वि.सं. २०८३ वैशाखमा आयोजना हुने कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो सहकार्यलाई दीर्घकालीन यात्राको सुरुवातका रूपमा व्याख्या गर्दै चलचित्र छायाङ्कन भएका स्थानहरू स्वतः पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने गरेको उल्लेख गरे । नेपाललाई पर्यटनप्रधान देश बनाउन चलचित्र क्षेत्र र पर्यटन क्षेत्रबीचको सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ का रूपमा विश्वसामु चिनाउने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए । चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरणमा जोड दिइने उनले बताए ।

उनका अनुसार पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ र अब ती कार्यक्रममा चलचित्र क्षेत्रसँग संयुक्त रूपमा प्रवर्द्धन गर्ने सम्भावना बढेको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रचार गर्ने, नेपाललाई श्रव्य–दृश्य उत्पादनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्ने तथा आवश्यक पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।

नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच भएको यो समझदारीलाई नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरे । चलचित्रमार्फत देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई विश्वसामु प्रस्तुत गर्न सके पर्यटन आगमन वृद्धि हुने उनको विश्वास छ ।

विश्वव्यापी रूपमा चलचित्र पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा नेपालले पनि आफ्ना हिमाल, प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र विविध परम्परालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यस सहकार्यले पर्यटन उद्योग र चलचित्र क्षेत्र दुवैलाई दीर्घकालीन रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ ।