काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ।
पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ। घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी वर्गीकृत गरिएको छ।
नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी कार्यदिशा रहेको दाबी गरेको छ। अर्कोतर्फ, नेकपा एमाले र नेपाली काँग्रेसलाई ‘यथास्थितिवादी’ भन्दै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको उल्लेख गरिएको छ।
पार्टीले नयाँ उदाउँदा शक्तिहरू (पपुलिष्ट) माथि विशेष प्रहार गर्दै घोषणापत्रमा भनिएको छ, “आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ। यो भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो।” यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र देश तथा जनताको हितमा नरहेको नेकपाले दाबी गरेको छ।
त्यसैगरी, रास्वपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गर्दै जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यस्ता तत्वहरूले देशलाई पछाडि धकेल्ने आरोप लगाइएको छ।
नेकपाले विगतका जनसङ्घर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको उल्लेख गर्दै लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वका अधिकारहरू आफ्नै कारण प्राप्त भएको दाबी गरेको छ। घोषणापत्रमा भनिएको छ, “हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ।” पार्टीले अरू दलले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया