नवलपरासी प्रशासनद्वारा रवि लामिछानेको कार्यक्रममा सचेतवानी : निर्वाचन आचारसंहिता पालनामा जोड

125 Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै गएसँगै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राजनीतिक दलका गतिविधिमाथि कडा निगरानी बढाएको छ । यसै क्रममा प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने भन्दै सचेत गराएको छ ।

रास्वपाले आज जिल्लामा आयोजना गर्न लागेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ लक्षित गर्दै प्रशासनले सूचना जारी गरेको हो । सूचनामा स्पष्ट भनिएको छ कि उक्त कार्यक्रम निर्वाचन आचारसंहिता २०८२ को नियमअनुसार मात्रै सञ्चालन गर्नुपर्ने छ र कुनै पनि प्रकारको उल्लङ्घन नगरिनुपर्नेछ ।

जिल्ला प्रशासनद्वारा जारी पत्र सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित छ । पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख छ ।

निर्वाचन आयोगले गत माघ १४ गतेदेखि देशभर निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको सन्दर्भमा राजनीतिक दलहरूलाई नियमको पालना गराउन प्रशासन सक्रिय देखिएको छ ।

जारी सूचनामा भनिएको छ, “२०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा हुने भनिएको कार्यक्रमबारे जानकारी प्राप्त भएको छ । सो कार्यक्रममा निर्वाचन आचारसंहिता २०८२ विपरीत हुने गरी कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सूचित गरिन्छ ।”

प्रशासनले आचारसंहिता उल्लङ्घन भएमा कानूनी कारबाहीसमेत हुन सक्ने स्पष्ट चेतावनी दिएको छ । यसरी निर्वाचनअघि राजनीतिक दलहरूको गतिविधिमाथि निगरानी बढाउनुले निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रशासनको तयारी झल्किन्छ ।