काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको अवस्था रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
त्यसैगरी आज राति पनि तराईका केही स्थानमा तुँवालो रहने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ ।
महाशाखाले तत्काल ठूलो वर्षा हुने सम्भावना नरहे पनि तराई र उपत्यकामा कुहिरो तथा तुँवालोका कारण वायु प्रदूषण कायम रहने जनाएको छ । यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया