देउडा सम्राट नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

155 Shares

काठमाडौं । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले नेपाली लोकसंस्कृति तथा सुदूरपश्चिमको देउडा परम्परामा महत्वपूर्ण योगदान पुर्‍याएका कलाकार नन्दकृष्ण जोशीलाई ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष समारोहमा जोशीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार–संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.लगायतले जोशीलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा प्रतिष्ठानका तर्फबाट परमेश्वर पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको उद्देश्य, पुरस्कार तथा छात्रवृत्ति कार्यक्रमबारे जानकारी गराएका थिए । उनले हरेक वर्ष फागुन ६ गते आयोजना हुने स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रम यस वर्ष विशेष परिस्थितिका कारण अगाडि सार्नुपरेको जानकारी दिए । साथै प्रतिष्ठानद्वारा प्रदान गरिने अन्य छात्रवृत्ति पुरस्कार र कृष्णा पन्तको सम्मानमा स्थापित ‘आमा पुरस्कार’बारे पनि चर्चा गरिएको थियो ।

01.jpgकार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी गरिएको थियो भने सञ्चालन अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा छन्द कवि ऋषभदेव घिमिरेले गरेका थिए । उनले कालीभक्त पन्तद्वारा रचित लोक रचना प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक माहोल दिएका थिए । कार्यक्रममा बाल कलाकार श्रीयङ्का बस्नेतले नृत्य प्रस्तुत गरेकी थिइन् ।

कालीभक्त पन्तको जीवनी र योगदानबारे अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले प्रकाश पार्दै धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पन्तको योगदान उल्लेखनीय रहेको बताए । ४१२ पृष्ठको ‘कालीभक्त पन्त स्मृतिग्रन्थ’मा उहाँको योगदानबारे धेरै लेखकहरूले चर्चा गरिसकेको जानकारी दिँदै उनले पुरस्कार प्राप्तकर्ता नन्दकृष्ण जोशीलाई बधाई दिएका थिए ।

समारोहमा पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक तथा कालीभक्त पन्तका नाति साहित्यकार महेश्वर पन्तले ‘नेपाल, अब नेपालमा मात्र सीमित रहेन’ शीर्षकको कविता वाचन गरेका थिए । उनले कालीभक्त पन्तको लोकगीत संगीतसहित प्रस्तुत गर्नुका साथै तीन वटा गजल गाएर कार्यक्रमलाई थप रौनक बनाएका थिए ।

अनेसास गण्डकी प्रदेश समितिका संयोजक देवु के.सी. देवेन्द्रले पनि समसामयिक कविता वाचन गरेका थिए । सोही अवसरमा कालीभक्त–कृष्णा पन्त छात्रवृत्ति तथा कृष्णा पन्त महिला सम्मान पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम घोषणा गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रशंसा पाण्डे (लिमिठाना मावि, पर्वत), सहनशिला पौडेल (शारदा मावि, कुर्घा), स्वर्णिमा घिमिरे (जनता मावि, देवीस्थान) रहेका छन् भने कृष्णा पन्त महिला सम्मान पुरस्कार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल, फलेवास शाखालाई प्रदान गरिएको छ ।

पुरस्कृत व्यक्तित्व नन्दकृष्ण जोशीले उक्त सम्मानलाई पुरस्कार मात्र नभई पितृआशीर्वादको रूपमा लिएको बताउँदै आफ्नो सांगीतिक यात्रा र संघर्षका अनुभव सुनाएका थिए । उनले देउडा गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई भावुक तथा उत्साहित बनाएका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै प्रतिष्ठानले नेपाली लोकसाहित्य र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले कालीभक्त पन्तको व्यक्तित्व, कृतित्व तथा नेपाली सांस्कृतिक इतिहासमा उहाँको योगदानबारे चर्चा गर्दै पुरस्कृत कलाकारलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले प्रतिष्ठान स्थापनादेखिको यात्रा र कालीभक्त पन्तको योगदानबारे संक्षिप्त चर्चा गर्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

जिपी तिमिल्सिना फाउण्डेशनको सभा हलमा सम्पन्न समारोहमा कालीभक्त पन्तका परिवारजन, साहित्यकार, कलाकार, संगीतकार, प्राध्यापक, चिकित्सक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले नेपाली लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समापन गरिएको थियो ।

625367044_26347621071511947_2079542286448614478_n.jpg