काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौँरीदेउराली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकामध्ये विना र विन्दा महर्जनले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ लिएको उजुरी परेको थियो । त्यसैगरी कोपिला शर्माले बेलायत पठाइदिने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको आरोप छ भने सन्तोष राईले कम्बोडिया पठाइदिने भन्दै तीन लाख ७० हजार रुपैयाँ लिएको बताइएको छ । कुमारी तामाङले पोर्चुगल पठाइदिने भन्दै १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले आकर्षक तलब, छिटो भिसा र सुरक्षित रोजगारीको आश्वासन दिँदै सर्वसाधारणबाट रकम असुल्ने गरेका थिए । रकम लिइसकेपछि लामो समयसम्म झुक्याउने, सम्पर्कबाट टाढा हुने वा मोबाइल बन्द गर्ने प्रवृत्ति देखिएको उजुरीकर्ताहरूले बताएका छन् ।
वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू पछिल्लो समय बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई आधिकारिक म्यानपावर कम्पनी तथा सरकारी निकायमार्फत मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । कुनै पनि व्यक्तिलाई ठूलो रकम बुझाउनु अघि आवश्यक कागजात, अनुमति र विश्वसनीयता जाँच गर्न पनि प्रहरीले सुझाव दिएको छ ।
हाल पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागमार्फत कानुनी प्रक्रिया अघि बढाइने र ठगी पीडितलाई न्याय दिलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिएका छन् ।







फेसबुकबाट तपाईको प्रतिक्रिया