काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । निजी क्षेत्रमाथि आगजनी, तोडफोड तथा लुटपाटजस्ता घटना दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनले बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र केवल नाफा कमाउने उद्देश्यका लागि मात्र नभई मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र भएको स्पष्ट पारे । उनले सरकारले यस विषयमा सर्वसाधारणलाई स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार शिक्षा, स्वास्थ्य, उद्योग, सेवा लगायतका धेरै क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । निजी क्षेत्रको सहभागिता बिना ती क्षेत्रको विकास सम्भव नहुने भन्दै उनले राज्यले यसलाई सकारात्मक रूपमा हेरेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
ढकालले निजी क्षेत्रले रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान दिँदै आएको उल्लेख गरे । निजी क्षेत्रलाई सुरक्षित, स्थिर र अनुकूल वातावरण उपलब्ध गराए मात्रै समग्र आर्थिक समृद्धि सम्भव हुने उनको भनाइ थियो ।
साथै उनले विगतमा देखिएका आन्दोलन र अशान्तिपूर्ण घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता दुखद घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनमार्फत दीगो आर्थिक विकास सुनिश्चित गर्न सकिने उनको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया