फेरि तीन लाख कट्यो सुनको मूल्य, चाँदी पनि महँगियो

116 Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य दुवै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ५ सय रुपैयाँमा पुगेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार रुपैयाँमा रहेको थियो। चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ। बजारमा सुन र चाँदीको मूल्य वृद्धि विदेशी बजारमा सुनको मूल्य, रुपियाँको अवमूल्यन र माग–आपूर्तिसँग सम्बन्धित कारकका कारण भएको विश्लेषकहरूले बताएका छन्।

सुनको मूल्य बढेसँगै गहना, लगानी र बचत गर्ने व्यक्तिहरूको लागि बजारमा चासो बढेको देखिन्छ। साथै आयात, व्यापार र मुद्रा सन्तुलनमा पनि सुनको मूल्य बढ्नुले प्रभाव पर्ने सम्भावना रहेको अर्थविद्हरूले बताएका छन्।