काठमाडौँ, माघ २४ । धनुषा जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी (HPV) खोप अभियान अन्तर्गत ८४ प्रतिशत किशोरीलाई खोप लगाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको खोप अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिइएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले कार्यक्रममा जानकारी दिँदै भने,
“हालसम्म जनकपुरसहित धनुषाका १६ हजार ९०० किशोरीले निःशुल्क एचपिभी खोप पाइसकेकी छन्। १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएको हो। सरकारले शतप्रतिशत किशोरीलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको छ।”
उनले आगामी आइतबारदेखि कक्षा ६ का किशोरीलाई पनि खोप दिने तयारी भइरहेको जानकारी दिए।
खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालयका शिक्षकहरूसमेत अभिमुखीकरण गरिएको छ। प्रमुख यादवका अनुसार शिक्षकहरूले विद्यार्थी र अभिभावकलाई खोपका लाभ, यसको सुरक्षा र क्यान्सर रोकथामसम्बन्धी जानकारी दिनुपर्नेछ।
नेपालमा प्रत्येक वर्ष करिब २,१६९ महिला पाठेघरको मुखको क्यान्सरका कारण प्रभावित हुने तथ्यांक प्रस्तुत गरिएको छ। यादवका अनुसार,
“पटक–पटक संक्रमण रहँदा र २० वर्षसम्म निरन्तर रहँदा क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ।”
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप अभियानमा सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताए। उनले मदरशाका किशोरीहरूलाई समेत खोप लगाउन चेतना जगाउनुपर्नेमा जोड दिए।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पनि अभियानलाई अत्यन्त महत्वपूर्ण बताए। उनका अनुसार,
“विद्यालय बाहिरका किशोरीहरूलाई समेत समेटेर शतप्रतिशत लक्ष्य पूरा गर्न पहल गर्न आवश्यक छ।”
एचपिभी खोपले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने, स्वास्थ्य सुरक्षित राख्ने र दीर्घकालीन रोग रोकथाममा सहयोग पुर्याउने उद्देश्य राखेको छ। स्वास्थ्य अधिकारीहरूले अभिभावक, शिक्षक र समुदायलाई अभियानमा सक्रिय सहभागी बनाउने, जोखिममा रहेका सबै किशोरीसम्म खोप पुगाउने प्राथमिकता राखेका छन्।
धनुषामा सञ्चालन भइरहेको यो अभियानले बालिका स्वास्थ्य, रोकथाम र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। आगामी दिनमा यो खोप अभियान देशभर विस्तार गर्ने योजना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया