काठमाडौँ, माघ २४ । लुम्बिनी प्रदेशमै पहिलोपटक अनलाइन माध्यमबाट सञ्चालन हुने विद्युतीय ट्याक्सी र मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ आजबाट नेपालगञ्जमा औपचारिक रूपमा सुरु गरिएको छ। सेवा शुभारम्भ कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टको उपस्थितिमा सम्पन्न भएको हो।
नगरप्रमुख बिष्टले कार्यक्रममा भने,
“प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात प्रणालीलाई सहज बनाउने र नागरिकलाई सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्ने विश्वास छ। यो हाम्रो लागि गर्वको विषय हो कि स्वदेशमै कार्यरत युवा डिजिटल प्रविधिमार्फत सेवा दिन सक्षम भएका छन्।”
‘ई–ड्राइभ नेपाल’ सेवाले १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रमा सेवा सुरु गरेको थियो। अब बाँके र बर्दियामा पनि सेवा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए।
भण्डारीले भने,
“डिजिटल प्रणालीमा आधारित यस सेवाले समयमै सुरक्षित, सहज र सुलभ ट्याक्सी तथा मोटरसाइकल सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा उपलब्ध हुनेछ।”
कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भने,
“युवालाई विदेश जान बाध्य बनाउने सट्टा स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने हाम्रो मुख्य लक्ष्य हो। आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना बनाएका छौँ।”
हाल ई–ड्राइभ लुम्बिनीले सात करोडभन्दा बढी लगानी गरेको छ। रुपन्देहीमा हाल एक सय १० ट्याक्सी र पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा सञ्चालन भइरहेको छ। सेवा डिजिटल एपमार्फत अनलाइन बुकिङ प्रणालीमा आधारित छ, जसले प्रयोगकर्तालाई समयमै सुरक्षित सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
विशेषज्ञहरूले यस सेवालाई लुम्बिनी प्रदेशमा आधुनिक, दिगो र वातावरणमैत्री सार्वजनिक यातायातको उदाहरणका रूपमा व्याख्या गरेका छन्। विद्युतीय सवारीले प्रदूषण घटाउने, यातायात व्यवस्थापनलाई सुधार गर्ने र प्रविधिमा आधारित सुरक्षित यात्रा सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
ई–ड्राइभ नेपालको उद्देश्य केवल यातायात सुविधा मात्र नभएर युवालाई स्वरोजगार र स्थानीय रोजगारीको अवसर प्रदान गर्नु हो। कार्यक्रमका सहभागीहरूले सेवा विस्तारसँगै स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना र प्रविधिमा आधारित व्यवसाय विकासमा सकारात्मक असर पर्ने विश्वास व्यक्त गरेका छन्।
निर्देशक भण्डारीका अनुसार आगामी समयमै ई–ड्राइभ सेवाले लुम्बिनी प्रदेशका अन्य प्रमुख सहरमा समेत विस्तार गर्दै राष्ट्रियस्तरमा विद्युतीय सवारी सेवाको पहुँच पुर्याउने योजना बनाएको छ।
यस सेवाले स्थानीय युवालाई स्वरोजगारका अवसर प्रदान गर्नुका साथै शहरमा सुरक्षित, सुलभ र दिगो यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया