काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा गतिविधि उल्लेख्य रूपमा बढेको छ । विशेषगरी युवा पुस्ता राजनीतिक बहस, अभिव्यक्ति र सूचना आदान–प्रदानमा सक्रिय देखिएका छन् । तर संवेदनशील समयमा गलत सूचना फैलाउने, गालीगलौज गर्ने तथा कसैको व्यक्तिगत चरित्रहत्या गर्ने प्रवृत्ति बढ्न सक्ने भन्दै नेपाल प्रहरीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालमा हुने गतिविधिमाथि प्रहरीले उच्च निगरानी राखिरहेको छ । भ्रामक सूचना, अफवाह फैलाउने सामग्री वा सामाजिक सद्भावमा असर पार्ने पोस्टहरू सार्वजनिक भएमा कानुनी कारबाही गरिने उनले बताएका छन् । यसका लागि विशेष अनुगमन टोली परिचालन गरिएको छ भने प्रहरीको साइबर ब्यूरोले समेत नियमित रूपमा सूक्ष्म निगरानी गरिरहेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरेर गलत सूचना फैलाउने, जातीय वा धार्मिक सद्भाव बिगार्ने, अरूको प्रतिष्ठामा आँच आउने सामग्री बनाउने तथा समाजमा अशान्ति फैलाउने प्रयास गर्नु कानुनविपरीत हो । यस्ता गतिविधिले सामाजिक एकता र शान्ति–सुरक्षामा असर पार्ने भएकाले प्रयोगकर्ताले विशेष जिम्मेवारीका साथ सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ ।
कुनै घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न तथा यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्टमार्फत प्रोत्साहन नगर्न पनि प्रहरीले आग्रह गरेको छ । कानुनविपरीत सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु स्वयं अपराध हुने भएकाले सचेत रहनुपर्ने प्रहरीको भनाइ छ ।
प्रहरीले अनलाइनमा देखिएका सूचना सेअर गर्नुअघि त्यसको सत्यता जाँच्न, आधिकारिक स्रोतबाट पुष्टि गर्न र समाजमा सकारात्मक डिजिटल वातावरण निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ । जिम्मेवार सामाजिक सञ्जाल प्रयोगले लोकतान्त्रिक अभ्यासलाई स्वस्थ बनाउने, सामाजिक सद्भाव कायम राख्ने र नागरिकबीच विश्वास बढाउने प्रहरीको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया