ट्वान्टी–२० विश्वकप आजदेखि सुरु, सुरक्षा र राजनीतिक विवादको छायाँ

166 Shares

काठमाडौं । क्रिकेटको महाकुम्भ मानिने ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको औपचारिक सुरुआत आजदेखि हुँदैछ। कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको यात्रा प्रारम्भ हुन लागेको हो।

तर प्रतियोगिता सुरु हुनुअघि नै सुरक्षा र राजनीतिक विवादले विश्वकपलाई घेरेको छ। विश्वकपको पूर्वसन्ध्यामा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्न सक्ने सम्भावना अझै कायमै छ। पाकिस्तानी सरकारले भारतसँग नखेल्ने संकेत गरे पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यस विषयमा औपचारिक निर्णय सार्वजनिक गरेको छैन। आयोजक श्रीलंका क्रिकेटले भने पाकिस्तानलाई खेलमा सहभागी हुन निरन्तर आग्रह गरिरहेको जनाएको छ।

यसअघि सुरक्षा कारण देखाउँदै बंगलादेश प्रतियोगिताबाट बाहिरिएपछि विवाद सुरु भएको थियो। बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराइएको छ।

साविक विजेता भारत यसपटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। भारतीय कप्तान सूर्यकुमार यादवले टोली ‘जित्ने मानसिकता’सहित मैदान उत्रने बताएका छन्। समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ चरणमा पुग्ने अनुमान गरिएको छ। यस समूहमा पाकिस्तान र पछिल्लो समय तीव्र प्रगति गरिरहेको अमेरिका भारतका प्रमुख चुनौतीका रूपमा देखिएका छन्। शनिबार नै मुम्बईमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

दुई पटकका विश्वकप विजेता अस्ट्रेलिया र इंग्ल्यान्ड पनि उपाधिका बलिया दाबेदार मानिएका छन्। तर मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियालाई प्रतियोगिताअघि नै झट्का लागेको छ। टोलीका प्रमुख तीव्र गतिका बलर प्याट कमिन्स र जोश हेजलवुड चोटका कारण बाहिरिएका छन्।

समूह ‘सी’ मा इंग्ल्यान्डको कप्तानी ह्यारी ब्रुक्सले गर्दैछन्। जोस बटलरपछि ब्रुक्सको नेतृत्वमा इंग्ल्यान्डले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेको हो। यस समूहमा नेपाल, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिजको उपस्थितिले समूह ‘सी’ अझ रोचक बन्ने देखिन्छ।

अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेको दक्षिण अफ्रिका यसपटक इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रँदैछ। कप्तान एडेन मार्क्रमले कुनै पनि टोलीले कसैलाई पनि हराउन सक्ने भएकाले सतर्क खेल आवश्यक रहेको बताएका छन्। दक्षिण अफ्रिका रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन्।

प्रतियोगिताको ढाँचाअनुसार चार समूहबाट शीर्ष दुई–दुई टोली ‘सुपर एट’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरिनेछ र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।