निर्वाचनसम्बन्धी गलत सूचना फैलाउने १८१ विषय कारबाहीका लागि साइबर ब्यूरोमा पठाइयो

181 Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह गर्ने १ सय ८१ वटा विषय नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ती सूचनाहरू विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि साइबर ब्यूरोमा पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार थप सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐनअनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ।

त्यसैगरी, आचारसंहिता विपरीत कार्य गर्न वेबसाइट नै खोलेका ४० वटा विषय प्रेस काउन्सिल नेपालमा कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ। यस्तै, ४७ वटा गलत सूचना केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि पठाइएको जानकारी पनि आयोगले दिएको छ।

निर्वाचन आयोगले आचारसंहिता विपरीतका गतिविधि घट्दै गए पनि अपेक्षित रूपमा नियन्त्रण गर्न नसकिएको उल्लेख गरेको छ।