काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा गएराति भएको दर्दनाक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। विवाह समारोहबाट फर्किँदै गरेको जन्ती बोकेको बस सडकबाट करिब दुई सय मिटर तल खसेपछि ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो। बिहीबार राति भएको उक्त दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक सबैको सनाखत भइसकेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बित्थडचिर–७ का बिसनदत्त जोशी (१७), दीपक जोशी (२७), किसनदत्त जोशी (४५), केशवराज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५), विष्णुदत्त जोशी (४१) र नरेशराज जोशी (४२) रहेका छन्। यस्तै केदारस्युर–७ बझाङका केशवराज भट्ट (२६), केदारस्युरकै मोहनदेव भट्ट (६०), जयपृथ्वी नगरपालिका–७ बझाङका बसन्तराज रतला (४०) तथा पुर्चौडी नगरपालिका–७ बैतडीका सुशील जोशी (१४) को मृत्यु भएको पुष्टि भएको छ। एक जनाको भने अस्पतालमा उपचारका क्रममा मृत्यु भए पनि नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने थप ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए।
विवाह सम्पन्न गरी फर्किने क्रममा भएको यो दुर्घटनाले खुसीको माहोललाई क्षणभरमै शोकमा परिणत गरेको छ। बेहुला–बेहुली भने अर्कै गाडीमा रहेका कारण सुरक्षित रहेको प्रहरीले जनाएको छ। तर आफ्नै जन्ती टोलीका सदस्य गुमाउँदा परिवार तथा आफन्त गहिरो शोकमा डुबेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बस सडकको मोडमा अनियन्त्रित भई तल खसेको अनुमान गरिएको छ। चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
यस घटनाले सुदूरपश्चिम क्षेत्रमा सडक सुरक्षाको अवस्था, ग्रामीण सडकको जोखिम तथा सार्वजनिक यातायात व्यवस्थापनबारे पुनः प्रश्न उठाएको छ। स्थानीयवासीले सडक सुधार, सुरक्षित सवारी सञ्चालन र यात्रु सुरक्षाका उपायमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया