काठमाडौं । नेपालका ७ सय ५३ वटै पालिकामा भ्वाइस नेटवर्क विस्तार भइसकेको नेपाल टेलिकममा पछिल्लो समय घट्दो आम्दानी ठूलो चुनौतीका रूपमा देखिएको छ।
हाल टेलिकमसँग दुई करोड १९ लाख मोबाइल ग्राहक, चार लाख एफटीटीएच भ्वाइस सेवा, तीन लाख ७४ हजार एफटीटीएच डाटा सेवा तथा ७५ हजार आईपीटीभी ग्राहक रहेका छन्। सेवा विस्तार निरन्तर भइरहे पनि कम्पनीको आम्दानी भने घट्दो क्रममा रहेको हो। गत आर्थिक वर्ष टेलिकमले ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै सरकारलाई १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको राजस्व योगदान गरेको थियो। तर यो अवस्था सन्तोषजनक नरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताउनुभएको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भण्डारीले टेलिकमको वित्तीय स्वास्थ्य बिग्रँदै गएको उल्लेख गर्दै व्यवस्थापनलाई तत्काल वैकल्पिक कदम चाल्न निर्देशन दिनुभयो। उहाँले सेवाको गुणस्तर सुधार गर्न र अनावश्यक खर्च कटौती गर्न पनि आग्रह गर्नुभयो।
अध्यक्ष भण्डारीका अनुसार गत आर्थिक वर्षमा टेलिकमले कमाएको करिब ६ अर्ब रुपैयाँ नाफा पनि प्राधिकरणले दिएको सहुलियतका कारण मात्र सम्भव भएको हो।
भ्वाइस र एसएमएस जस्ता परम्परागत सेवाको प्रयोग घट्दै जानु तथा डाटा र इन्टरनेट बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नुले टेलिकमसहित दूरसञ्चार कम्पनीहरूको नाफामा गिरावट आएको जनाइएको छ।
वि.सं. २०६० साल माघ १२ गते तत्कालीन दूरसञ्चार संस्थानलाई कम्पनी मोडेलमा रूपान्तरण गरी स्थापना गरिएको नेपाल टेलिकमले बिहीबार आफ्नो २२औँ स्थापना दिवस मनाएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया