निर्वाचन तोकिएकै मितिमा हुनेमा प्रधानमन्त्री कार्की विश्वस्त, तयारी अन्तिम चरणमा पुगेको दाबी

126 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा सरकार पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई ढुक्क हुन आग्रह गरेकी छन्। उनले निर्वाचनको सम्पूर्ण तयारी निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

बिहीवार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन्। उनले देशभर एकैदिन मतदान हुने बताउँदै दुई चरणमा चुनाव हुने कुनै सम्भावना नरहेको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन अवधिमा देशका विभिन्न भूगोलमा मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन्। उनले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।

उनले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरिने दोहोर्याइन्। वर्तमान सरकारको प्रमुख दायित्व निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउनु भएको उल्लेख गर्दै त्यसपछि निर्वाचित नेतृत्वलाई शासनको जिम्मेवारी सुम्पिने र आफूहरू नियमित जीवनमा फर्किने बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “ढुक्क र निश्चिन्त हुनुस्। चुनाव एकैदिनमा हुन्छ, दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा चुनाव हुन्छ। मौसम पनि अनुकूल रहने विश्वास छ र सबै नागरिकले निर्वाध रूपमा मतदान गर्न पाउनुहुनेछ। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी आफ्नो जिम्मेवारी पूरा गर्छौँ।”

त्यस्तै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गरिन्। मतपत्र छपाइ, सुरक्षा व्यवस्थापन, मतदान केन्द्र तयारी तथा व्यवस्थापनका काम सन्तोषजनक ढंगले अघि बढेको उल्लेख गर्दै आयोगलाई धन्यवाद व्यक्त गरिन्।

प्रधानमन्त्रीले सुरक्षा निकाय, प्रशासन तथा सम्बन्धित निकायलाई निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न विशेष ध्यान दिन निर्देशन दिइएको जानकारी दिइन्। साथै राजनीतिक दल र उम्मेदवारलाई पनि संयमित, जिम्मेवार र मर्यादित ढंगले प्रचार–प्रसार गर्न आग्रह गरिन्।

निर्वाचनलाई राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र विकासको मार्ग तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सरकारले निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबै निकायसँग समन्वय गर्दै तयारी तीव्र पारेको जनाएको छ।

यसैबीच निर्वाचन आयोगले पनि मतपत्र छपाइ, कर्मचारी परिचालन, सुरक्षा योजना तथा प्राविधिक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगले नागरिकलाई नडराई, स्वतन्त्र र जिम्मेवार ढंगले मतदान गर्न अपिल गरेको छ।