चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट बिहीबार सुनुवाइ हुने

146 Shares

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगले खारेज गरेको आफ्नो उम्मेदवारीको विरुद्ध दायर गरेको रिटको सुनुवाइ बिहीबार हुने भएको छ।

रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पहिलो नम्बरमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। साथै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो।

माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग जोडिएको फाइल पूर्वआदेश अनुसार पेश गर्न आदेश दिएको थियो। मिसिल प्राप्त भएपछि रिटको अन्तरिम आदेशको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको हो।

चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए, तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो।