बौद्धमा करोडौँको सुन चोरी : २४ घण्टाभित्रै प्रहरीले गोली चलाएर अभियुक्त पक्राउ

137 Shares

काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रमा भएको करोडौँ रुपैयाँ बराबरको सुन चोरी घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरी फरार रहेका नेपालगञ्ज घर भएका प्रेम थारु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मंगलबार दिउँसो घरका सदस्यहरू छतमा घाम तापिरहेको मौका पारेर थारु घरभित्र प्रवेश गरेका थिए । चौथो तलाको ढोका फुटाएर उनले करिब ३० तोला सुन, चाँदीका गहना तथा बहुमूल्य ‘सि-माला’ झोलामा राखी फरार भएका थिए ।

दुई घण्टापछि कोठामा पुग्दा चोरी भएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धले तीव्र अनुसन्धान थालेका थिए ।

अनुसन्धानकै क्रममा नागार्जुन नगरपालिका–महांकाल क्षेत्रमा लुकेको अवस्थामा उनलाई फेला पारिएको थियो । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले एक राउण्ड गोली चलाएको र खुट्टामा चोट लागेका थारुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले थारु पेशेवर चोरी घटनामा संलग्न रहेको देखाएको छ । यसअघि भोटेबहालमा भएको सुन चोरी प्रकरणमा समेत उनको संलग्नता रहेको आशंका गरिएको छ । चोरी भएका सामग्रीको खोजी तथा सम्भावित गिरोहबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।