पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा हुस्सु–कुहिरो, पहाड र हिमालमा मौसम सफा

140 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बिहीबार बिहान हिमाली भू–भागमा सामान्यतया बदली देखिएको छ भने पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो तराई क्षेत्रका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यसले दैनिक जनजीवन प्रभावित हुने जनाइएको छ। विशेषगरी यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता, पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै, बिहीबार राति पनि तराई क्षेत्रका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।