काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। मंगलबार १२ अंकले घटेको बजार बुधबार पनि सामान्य दबाबमा रहँदै अन्ततः घटेर बन्द भएको हो।
बुधबार कारोबार सुरु हुँदा २६८३.१५ बिन्दुमा रहेको नेप्से सूचक १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा झरेको छ। यस्तै सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेको छ।
बजार समग्र रूपमा घटे पनि चार कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढ्दै सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् रहेका छन्। तीमध्ये आँखुखोला हाइड्रो सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा देखिएको छ।
बुधबार कारोबार भएका कम्पनीमध्ये १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको, १ सय १३ कम्पनीको मूल्य बढेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत परिसूचकतर्फ बैंकिङ समूह ४.५६ अंकले घटेको छ। त्यसैगरी जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंकले घटेका छन्।
तर केही समूहमा भने सुधार देखिएको छ। विकास बैंक समूह ६.०७, वित्त २३.३३, होटल तथा पर्यटन १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, निर्जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंकले बढेका छन्।
कारोबार रकममा पनि बुधबार कमी आएको छ। नेप्सेमा बुधबार ३२६ कम्पनीका ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ। यो कारोबार रकम मंगलबारको तुलनामा कम हो। मंगलबार करिब साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया