दोहोरो अंकले घट्यो नेप्से, परिसूचक २६८३ बिन्दुमा रोकियो

192 Shares

काठमाडौं । सोमबार झिनो अंकले सुधार देखिएको शेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ।

उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २६८३ बिन्दुमा झरेर रोकिएको हो। होटल तथा पर्यटन, सामूहिक लगानी कोष र उत्पादनमूलक समूह बाहेक अधिकांश समूह ओरालो लागेका छन्।

होटल तथा पर्यटन समूह करिब २ प्रतिशतले उकालो लागेको छ भने वित्त र जलविद्युत समूह करिब १ प्रतिशत हाराहारीले घटेका छन्। अन्य समूहहरू सामान्य दरले ऋणात्मक रहेका छन्।

आज नेप्सेमा सूचीकृत ३३२ वटा स्टकका १ करोड ८७ लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।

बजार घटेका दिन पनि कालिन्चोक दर्शन र एचएलआई लार्ज क्यापका लगानीकर्ताले १० प्रतिशतसम्म कमाएका छन्। यसदिन पनि एसवाई प्यानलको सबैभन्दा धेरै, करिब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।