काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार र रोजगारी सिर्जनामा टेवा पुर्याउने उद्देश्यले ९ करोड ५० लाख अमेरिकी डलर (९५ मिलियन डलर) बराबरको सहायता स्वीकृत गरेको छ।
वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयका अनुसार यस परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा विशेषगरी महिलाद्वारा सञ्चालित व्यवसायलाई सहयोग पुर्याउन निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाइनेछ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले परियोजनामार्फत वित्तीय पहुँच सहज बनाउने, व्यावसायिक अवरोध घटाउने र वित्तीय समावेशिता विस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार यसले कम पहुँच भएका क्षेत्र—विशेषगरी महिला उद्यमीहरू—लाई औपचारिक वित्तीय प्रणालीसँग जोड्न मद्दत पुर्याउनेछ।
सिस्लेनले यो पहलले एमएसएमईहरूलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग गर्ने र निजी क्षेत्रको नेतृत्वमा रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारहरूको निरन्तरता रहेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया