प्रहरी जवान लिखित परीक्षामा १२ नक्कली परीक्षार्थी पक्राउ

173 Shares

काठमाडौं । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शनिबार सम्पन्न परीक्षाका क्रममा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा, वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका–२ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक रहेका छन्।

यस्तै जाजरकोट कुसे गाउँपालिका–२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–९ बस्दै आएका २६ वर्षीय पूर्णबहादुर सिंह, जुनीचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल, दुल्लु नगरपालिका–१ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेत गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति वा सम्भावित गिरोहको खोजी भइरहेको छ। पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।