काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २० माघ मंगलबार देशका केही भू–भागमा मध्यमदेखि हल्का खालको हिउँ र पानी पर्ने चेतावनी दिएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको छ। लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्का हिउँ वा पानी पर्ने अनुमान गरिएको छ।
त्यस्तै सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा छिटपुट हल्का पानी पर्ने सम्भावना छ। विभागले हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको वर्षा हुने क्षेत्रलाई पहेँलो संकेतमार्फत देखाउँदै सावधानी अपनाउन आग्रह गरेको छ।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार यो माघमा हिउँ र पानी पर्ने प्रणाली अघिल्लो पटकको भन्दा केही कमजोर रहेको छ। यसअघि ९–१० माघ र १३–१४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो, जसको तुलनामा २० माघको प्रणाली कम शक्तिशाली रहेको उनको भनाइ छ।
मौसममा क्रमिक सुधार २१ माघ बुधबारदेखि हुने जानकारी पनि उनले दिएका छन्।
पौडेलले यस वर्ष हिउँद अवधिमा वर्षा सामान्यभन्दा धेरै कम भएको जानकारी दिएका छन्। १६ मंसिरदेखि १३ माघसम्म सर्वसाधारण सरदर वर्षा केवल ३.६ मिलिमिटर, अर्थात् ६.०२ प्रतिशत मात्र भएको विभागको रेकर्ड छ। सामान्यतया १६ मंसिरदेखि १५ फागुनसम्मको अवधिमा करिब ६० मिलिमिटर वर्षा हुने गर्छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया