राप्ती स्वास्थ्य प्रतिष्ठानमा सीटी स्क्यान खरिदमा भ्रष्टाचार, २० जनाविरुद्ध अख्तियारले मुद्दा दायर

169 Shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उपकुलपति डा. संगीता सिंह भण्डारीसहित २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

मुद्धा दायर भएकामध्ये प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी, आशुतोष भण्डारी, अमित कुमार चौधरी, र लेक्चचर डा. श्रीसिया पोखरेल समेत छन्।

त्यसैगरी, अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, र हिमालय मेडिटेक प्रा.लि. का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि मुद्दा दायर भएको छ।

अख्तियारको दाबी अनुसार, खरिद आवश्यकताको स्पष्ट पहिचान र गुरुयोजना बिना, खरिद प्रक्रिया अगाडि बढाइएको थियो। यसले सरकारी स्रोतको दुरुपयोग र प्रत्यक्ष आर्थिक नोक्सानी भएको आरोप मुद्दामा उल्लेख गरिएको छ।

विशेष अदालतमा एकल वा संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगोसहित कारबाहीको माग गरिएको छ।