नालापानी युद्धका वीर सपूतहरूलाई राष्ट्रिय पहिचान दिन सुझाव

172 Shares

काठमाडौं – नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका अन्य वीर सपूतहरूलाई राज्यले आधिकारिक रूपमा पहिचान दिनुपर्ने सुझाव सार्वजनिक भएको छ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरोकारवालाहरूले यस विषयमा जोड दिएका हुन्। इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानलाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो।

उहाँले नालापानी युद्धलाई नेपालको ऐतिहासिक गौरवको रूपमा मूल्याङ्कन गर्दै युद्धमा प्रयोग भएका हतियारहरूको संरक्षण आवश्यक रहेको पनि बताउनुभयो। खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो।

दयाराम खड्का स्मृति प्रतिष्ठान, प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले स्मृतिस्थलको भौतिक संरचना जिर्ण अवस्थामा रहेको र राज्यले यसको संरक्षण गर्नुपर्ने बताए। साथै, खड्काको योगदानको सम्मानमा प्यूठानमै शालिक निर्माण गरी राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग उहाँले राख्नुभयो।

प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले युद्ध कौशल र योगदानको कदर गर्दै खड्कालाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने, र युद्धमा प्रयोग भएका हातहतियार संरक्षणमा राख्नुपर्ने माग अघि सारे।

बैठकमा उपस्थित अधिकांश सांसदहरूले नालापानी युद्धका पत्र र दस्तावेजहरूको थप अध्ययन तथा विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरेका छन्।