काठमाडौं – प्रतिकूल मौसमका कारण प्रभावित बनेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू पुनः नियमित सञ्चालनमा आएका छन्। बिहानैदेखि उपत्यकासहित देशका विभिन्न भागमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण उडान तालिका अस्तव्यस्त बनेको थियो।
दृश्यता अत्यन्त कम भएपछि धेरै आन्तरिक गन्तव्यका उडान स्थगन गर्नुपरेको थियो। विशेषगरी तराई र पहाडी क्षेत्रका विमानस्थलहरूमा कुहिरोको प्रभाव बढी देखिएको थियो। जसका कारण यात्रुहरू विमानस्थलमै लामो समय कुर्न बाध्य भएका थिए भने केही उडानहरू ढिलाइ भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसममा क्रमिक सुधार भएसँगै अहिले अधिकांश गन्तव्यका उडान सुचारु भइसकेका छन्। काठमाडौं, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटारमा बिहान उडान प्रभावित भए पनि अहिले भरतपुर, टुम्लिङटार र नेपालगञ्ज बाहेकका अधिकांश स्थानमा उडान सञ्चालनमा आएको जानकारी दिइएको छ।
मौसमको प्रत्यक्ष प्रभावले विशेषगरी बिहानको समय बढी प्रभावित हुने गरेको विमानस्थल स्रोतले जनाएको छ। दृश्यता न्यून हुँदा विमान अवतरण र उडान दुवै जोखिमपूर्ण हुने भएकाले नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्डअनुसार उडान स्थगित वा ढिलाइ गर्ने निर्णय लिने गरेको छ।
विमानस्थल प्रशासनले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित एयरलाइन्ससँग उडानको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ। मौसमको अवस्था फेरि बिग्रन सक्ने सम्भावना रहने भएकाले उडान तालिकामा पुनः परिवर्तन हुन सक्ने चेतावनी समेत दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया