रवि लामिछाने आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदै

211 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जबाट डिस्चार्ज हुने भएका छन्।

अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंका अनुसार लामिछानेको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि उनलाई साँझसम्म डिस्चार्ज गर्ने तयारी गरिएको हो।

लामिछानेलाई खुट्टामा लागेको घाउबाट ‘सेलुलाइटिस’ संक्रमण देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। संक्रमणका कारण खुट्टा सुन्निनु र दुखाइ बढेपछि चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ।

माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो। प्रारम्भिक रूपमा सामान्य देखिएको घाउमा पछि संक्रमण फैलिँदै गएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।

चिकित्सकका अनुसार उपचारपछि संक्रमण नियन्त्रणमा आइसकेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले डिस्चार्ज गर्न लागिएको हो।