काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुनुभएको छ।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि उहाँ बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको थियो। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारेर भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको बताइएको छ।
अस्पताल स्रोतका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने समस्या पनि देखिएको छ। स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
बिहीबार बिहान उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए।
यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया